भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो


दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, बाँकेका वर्षीय ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी रहेका छन्।

दुर्घटनामा परी २३ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको डिएसपी मल्लले बताए । मृतकमध्ये ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको मल्लले बताए। बसमा ३६ जना यात्रु थिए।

बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गए राति साढे दश बजेतीर पुलबाट तल राप्ती नदीमा खसेको थियो । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसंन्धान गरिरहेको डिएसपी मल्लले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार