काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) यहि फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले आज जारी गरेको एक सूचनाअनुसार यहि फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा (ईपीएस) परीक्षा सञ्चालन हुने भएको हो। परीक्षा भने ललितपुरको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुने कोरिया शाखाले जनाएको छ।
परीक्षा सहभागी हुने विधार्थीका लागि नियमहरु कडाई साथ लागु हुने बताइएको छ । परीक्षामा सहभागीहरुले मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र लैजान पूर्णरुपमा निषेध गरिएको कोरिया शाखाले जनाएको छ ।
परीक्षामा चिट, कतैबाट कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै त्यस्तो गर्ने परीक्षार्थीलाई ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुने समेत कार्यालयले जनाएको छ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ। निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) को लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ ।
सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।