काठमाडौं। देशभरीका महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो भएको छ ।
देशभरिका ६ वटा महानगरमध्ये रेणु दाहालले मेयर रहेको भरतपुर महानगर पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार महानगरमध्ये भरतपुर देशभरीकै उत्कृष्ट भएको हो । गत आर्थिक वर्षमा भएको कार्य सम्पादन मूल्याङ्कनमा पनि भरतपुर महानगर नै देशभरबिाट उत्कृष्ट भएको थियो ।
आयोगले यस आर्थिक वर्ष पनि पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकका आधारमा मूल्याङकन गरेको थियो।
यहि आधारमा बालेन मेयर रहेको काठमाडौं महानगर भने दोस्रो भएको छ ।
आयोगले गरेको मूल्याङ्कनअनुसार देशभरिका महानगरमध्ये भरतपुरले ५६.२९, काठमाडौँ महानगरपालिकाले ३९.०२, वीरगञ्ज महानगरपालिकाले ३३.४९ , विराटनगर महानगरपालिकाले ३२.८५ , ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अङ्क पाएका छन् ।
जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ५६.९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२ .०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४०.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४०.०१ प्रतिशत, कालिका नगरपालिकाले ३५. ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१.७५ प्रतिशत र माडी नगरपालिकाले २६. २० प्रतिशत अङ्क पाएका छन् ।
देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्स्यौटलगायतका विषयमा सधैँ उकृष्ट बन्दै आइरहेको छ ।
आयोगले कार्य सम्पादन मूल्याङ्कनमा असार १० गतेभित्र बजेट ल्याए नल्याएको, असार ३० गतेभित्र बजेट पास गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए नदिएको लगायतका बिषयमा मूल्याकंन गर्ने गर्छ । यसमध्ये आयोगले विशेषगरी लेखा र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।