धरान । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। मृतकमध्ये जिप चालक मानबहादुर बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले बताएअनुसार मृतक हुनेमा १ जना करिब महिनाको बच्चा, ३ महिला र २ पुरुष रहेका छन् । उनिहरुको पहिचान हुन सकेको छैन् । दुर्घटनामा परि अन्य ९ जना घाइतेको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले बताए ।
धरानबाट उदयपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो जिप उदयपुर र भोजपुरको सिमाना मैनामैनीनजिकै दुर्घटना भएको हो । गुडिरहेको जिप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण नखुले पनि जिपमा क्षमता भन्दा बढि यात्रु रहेको पाइएको छ । १०–१२ जना क्षमता रहेको बोलेरो जिपमा १६ जना यात्रु चढाएको पाइएको छ । जिप ओरालो सडकमा पल्टिएकाले ब्रेक फेल भएर पनि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटना भएको थाहा पाए लगत्तै उघारकालागि भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु परिचालन गरिएको छ ।