काठमाडौँ । इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले लिम्बुलाई सघाउने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
थेगिम कोशी प्रदेश नाम खारेज गर्दै पहिचानमा आधारित पुनः नामाङ्कन गर्नका लागि गठित संयुक्त सङ्घर्ष समितिको संयोजक समेत हुन् । लामो समय शिक्षण पेशमासमेत गरेका लिम्बु किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष पनि हुन् । उनलाई धरानका मेयर हर्क सम्पाङले पनि सर्मथन गर्दै जिताउन लागिपरेका छन् ।
पहिचानवादीहरुले इलाम २ को उपनिर्वाचनलाई आफ्नो अस्तित्वको लडाई भन्दै चुनावमा होमिएका छन्। लिम्बुलाई विभिन्न जातीय घटक, संघ संस्था, संगठनहरुले पनि सर्मथन गरेका छन् ।