राष्ट्रपतिले भनेः ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहन्छु’


तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहने बताएका छन्।
आज तनहुँ पुगेका राष्ट्रपति पौडेलले जनज्योति क्याम्पस भिमादको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहने बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताको श्रृङखलाले देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने आफ्नो मुख्य चिन्ता रहेको पनि बताए ।

‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु । तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’, उनले भने ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डले आफुलाई देश र व्यवस्था बचाउने जिम्मा दिएकाले संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन आफु रहेसम्म निष्ठापूर्वक लागिरहने वाचा समेत गरेका छन् ।

उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यानको विकासका लाग्नु पर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार