नागरिकता सम्बन्धी गृहको परिपत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सरकारले यसअघि नै आमाको नामबाट नागरिकता पाउने आदेश जारी गरेको भए पनि धेरै नेपाली आमाका छोराछोरीले अझै नागरिकता पाउन सकेका छैन्न । आमाको नामबाट नागरिकता लिने प्रक्रिया झन्झटीलो भएकाले यसलाई सहज बनाउनु पर्ने माग गर्दै अहिले पनि संसदमा महिला सांसदले माग गरिरहेका छन् ।

आमाको नामबाट नागरिकता दिने प्रक्रियाबारे राज्यव्यवस्था समितिमा छलफल सकिन समय लाग्ने भएकाले बंशजको आधारमा नागरिकता दिने विषयलाई नै निरन्तरता दिने सहमति भएको थियो । त्यसपछि गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानसलाई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो ।

उक्त परिपत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।अधिवक्ता बालकृष्ण न्यौपानेले आइतबार परिपत्र कार्यान्वयन नगर्ने आदेश माग गर्दै हालेको मुद्दाको सुनुवाइ गर्दै सोमबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले वैशाख ३ गतेसम्म परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो।

सर्वोच्चले वैशाख ३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ।

यसअघि चैत १९ गते गृह मन्त्रालयले संविधानअनुसार संघीय नागरिकता कानुन बन्न समय लाग्ने भएकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिन ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

नागरिकता संशोधन विधेयक लामो समय संसदमा अड्किएको र सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन आदेश गरेकाले यस्तो परिपत्र जारी गर्नुपरेको गृहको तर्क थियो।

गृहका अनुसार उमेर पुगिसकेका बालिग सन्तानले नागरिकता नपाएर शैक्षिक एवं वृत्ति विकास गर्न नपाई झेल्नुपरेको समस्या सम्बोधन गर्न त्यस्तो परिपत्र गरिएको थियो।

२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा बसोबास गरेको १५ वर्ष पुगेको र त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो।

नागरिकता सम्बन्धी संघीय कानुनको विधयेक अहिले संसदीय समितिमा विचाराधीन छ। संसदमा महिला सांसदले नेपाली आमाका छोराछोरीलाई राज्य विहिन बनाउनु हुदैन भनेर माग गरिराखेका छन् ।

कुनै पनि नेपाली नागरिकले नागरिकताकै कारण जागिर, कजेल अध्ययन र बैदेशिक रोजगारी लगाएतका कामबाट बञ्चित गराउनु हुदैन भन्ने माग महिला सांसदको रहेको छ । नागरिकताको विषयमा सरकार पटक पटक पन्छिदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार