काठमाडौं । निर्वाचन आयोगमा हालै दर्ता भएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष अशोक राईले पार्टी फुटको मुख्य कारण उपेन्द्र यादव भएको बताएको छन् ।
विहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले यादवले पार्टी कब्जा गर्न खोजेपछि पार्टी फुटको निर्णयमा पुगिएको बताए । यादवले पार्टीमा आफूखुसी गर्दै आएको बताउंदै अध्यक्ष राईले पार्टीमा स्वेच्छाचारिता हावी भएको र पारदर्शी नभएका कारण फुटसम्म पुगेको प्रष्ट्याए ।
यादवले अमेरिका उड्नुअघि जारी गरेको परिपत्रले पार्टीमा विस्फोटक स्थिति बन्दै फुटसम्म पुग्नुमा यादव नै दमुख्य कारक रहेको बताए।
अध्यक्ष राईले महाधिवेशनको प्रतिनिधि छनौटमा पनि यादवले एकलौटी निर्णय गरेको आरोप लगाए । यादवले प्रतिनिधि छनौट गर्दा समानुपातिक समावेशीताको पनि ख्याल नगरिएको राईको भनाई छ । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको भए पनि त्यसलाई बहुमत र अल्पमतमा रुपमा हेर्दा पार्टीमा थप समस्या आएको उनले बताए ।
एकता महाधिवेशन भएकाले पार्टीका शिर्ष नेताहरुबीच घनिभुत छलफल गरेर सहमतीका आधारमा जानुपर्ने कुरालाई यादवले लत्याएको अध्यक्ष राईले बताए । यादवले आफुहरुलाई अल्पमतमा पारेर पार्टी नै कब्जा गरेर जाने रणनीति गर्दा फुटसम्म पुगेका राईको दावी छ ।
आफुहरुले महाधिवेशनमा अल्पमत र बहुमतको बिषयमा सोच्दै नसोचेको समेत उनले बताए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुका प्रश्नको जवाफ दिदै अध्यक्ष राईले आफुहरुले कुनै ब्यक्तिगत स्वार्थका लागि नयां पार्टी गठन नगरेको प्रष्ट पारे । राजनीतिमा परिवारवादको आरोप सामान्य भएको बताउंदै अध्यक्ष राईले आफुहरु जनताबाट निर्वाचित भएकाले परिवारवादको आरोप लगाउनु गलत भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै जसपा नेपालका नेता मोहम्मद इस्तियाक राईले पार्टी फुटको मुख्य कारण यादवको स्वेच्छाचारि निर्णय भएको बताए । एकल निर्णय हावी हुँदा यादवले नेतृत्व गरेको पार्टी पटक पटक फुटेको समेत उनले बताए । यादवसंग १८ बर्ष संगै रहेर पार्टीमा काम गरेका इस्तियाक राईले आफुहरुले गठन गरेको नयां पार्टीमा सबैलाई सामुहिक, लोकतान्त्रि, समानुपातिक र समावेशतिाको सिद्धान्तमा समेटेर लैजाने पनि बताए । पत्रकार सम्मेलनमा जसपा नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई सर्मथन जारी राख्ने समेत जानकारी दिएको छ ।
जसपा नेपालको पत्रकार सम्मेलनको भिडियो हेरौं