काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइदै छ।
प्रहरी हिरासत रहँदा स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा भर्ना भएका सिरोहियालाई थप उपचारका लागि आज एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको हो । धनुषाको काब्या अस्पतालले थप उपचारका लागि अन्यत्र लैजान सल्लाह दिएपछि सिरोहियालाई काठमाडौं ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ।
सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि धनुषाकै काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको परिवारजनले जनाएको छ ।
नागरिकता किर्ते गरेको आरोपमा सिरोहियालाई पक्राउ गरि जिल्ला अदालत धनुषामा उपस्थित गरिएको थियो। जिल्ला अदालतले उनलाई सिरोहियामाथि अनुसंन्धनका गर्न प्रहरीलाई तीन पटक तीनरतीन दिनको म्याद दिएको थियो ।
सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै बैशाख १६ गते सर्लाहीका रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा प्रहरीले सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरी धनुषाअदालतमा उपस्थित गराएको थियो ।