काठमाडौं । गायक प्रकाश दूतराजको विवादीत नयां गीत ‘करिम’ युट्युबबाट हटाइएको छ । गीतमा बादी समुदायबारे गलत सन्देश दिन खोजिएको भन्दै आलोचना भएपछि गीत युटुबबाट हटाइएको हो । सर्जक दूतराजले गीतको भिडियोमा बादी समुदायका महिलाहरु देह ब्यापारमा लागेको कथा समेटेका थिए ।
जुन बिषयले सिंगो बादी समुदायबारे समाजमा गलत सन्देश प्रवाह भएको भन्दै तिर्ब आलोचना भएको थियो । बादी समुदायका केहि महिलाहरुले कुनै समयमा बाध्यताबस देह ब्यापार गरेको भए पनि त्यो नै बादी समुदायको पेशा नभएकाले गीतमा गलत सन्देश दिन खोजेको भन्दै बादी अधिकारकर्मीहरुले युटुबबाट गीत नै हटाउन माग गर्दै आएका थिए ।
गीतमा कुनै विवाद नभए पनि भिडियोमा बादी समुदायका महिलाहरुलाई देह ब्यापारसंग जोडेर मात्रै गलत सन्देश प्रवाह गरिएकाले गीत हटाउन आग्रह गरिएको अधिकारकर्मी एवम् लेखक गोपाल नेपालीले बताए । गीतको भिडियोमा बादी समुदायकी एक बालिकालाई विधालयको कक्षा कोठामा परिचय दिदा बुवाको पहिचान थाहा नभएको दृष्य देखाइनु आपत्तिजनक रहेको अधिकारकर्मी नेपालीको भनाई छ ।
यस्तै गीतको भिडियोमा बादी समुदायकी सुत्केरी महिलाले समेत देह ब्यापार गरेको दृष्य राखिनुले समग्र बादी समुदायको इतिहास नै मेटाउने काम भएकाले गीतको विरोध गरिएको उनले बताए ।
अधिकारकर्मी नेपालीले गीतका सर्जक दूतराजप्रति आफुहरुको ब्यक्तिगत रुपमा कुनै गलत मनसाय नभएको तर जानी नजानी बादी समुदायको इतिहास गलत रुपमा प्रवाह गर्न खोजिएकाले सच्याउन आग्रह गरिएको बताए ।
अधिकारकर्मी नेपालीले बादी समुदायबारे यसअघि पनि नथिया, ऐलानी र पण्डित बाजेको लौरी जस्ता उपन्यास र फिल्मले समाजमा गलत सन्देश प्रवाह गर्न खोजेकाले त्यसलाई कानुनीरुपमै प्रतिबन्द गरिएको समेत स्मरण गराए । गीतबारे दलित आयोगले समेत चासो राख्दै सर्जकलाई सच्याउन आग्रह गरेको थियो ।
गीतले बादी समुदायको इतिहास नष्ट गर्दै स्वाभिमानमा ठेस पुर्याएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत उजुरी परेको थियो । करिम गीतको शब्द, संंगीत र गायन सर्जक दूतराज स्वयमले गरेका थिए भने उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी थिइन् ।
भिडियो पनि हरौं