काठमाडौँ । भारतको सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले) को शानदार जित भएको छ । उनको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा कुल ३२ मध्ये ३१ सिट जित्दै शानदार जित हासिल गरेको हो । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको आइतबार घोषणा गरिएको नतिजामा एसकेएमले शानदार बहुमत जित हासिल गरेको छ । चुनावमा पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले जम्मा १ सिट जितेको छ ।
पूर्वमुख्यमन्त्री चाम्लिङ दुवै चुनाव क्षेत्रबाट पराजित भएका छन् । पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का भोजराज राईसँग ३ हजार ६३ मतको अन्तरले पराजित भएका छन् । राईले ८ हजार ३७ मत ल्याएका छन्। यस क्षेत्रको चुनावमा भारतीय जनता पार्टीका अर्जुन राईले ७ सय ३९ मत पाएका छन् ।
त्यस्तै पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि एसकेएमका राजु बस्नेतसंग पराजित भएका छन्। बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।
वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रमा विजयी भएका छन् । सोरेङ-चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराएका छन् । तामाङले १० हजार ४ सय ८० मत ल्याउँदा सुब्बाले ३ हजार ८४ मत ल्याए । त्यस्तै रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराएका छन् ।
चुनाव जितेसंगै सिक्किमका नेपाली समुदायलाई लागेको ‘विदेशी’ को ट्याग हटाउन एसकेएम सफल भएको नवनिर्वाचित मुख्यमन्त्री तामाङको दाबी छ। सिक्किममा सरकार चलाएको ५ वर्ष पुगेको अवसरमा एसकेएमलाई जनताले रुचाएको देखिन्छ । जसलाई यस चुनावमा जनताले बहुमत दिएर अनुमोदन समेत गरेका छन् । तामाङ सरकारका लोकपृय कार्यक्रममध्ये शिक्षक, उपप्राध्यापकलगायतका अस्थायीखाले रोजगार, श्रमिकको ज्याला मासिक १५ हजार, गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना रहेका छन्। त्यस्तै एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजना पनि तामाङ सरकारका कार्यक्रम सिक्किमेली जनताले मन पराएका छन् ।
तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको थियो ।
सन् २०१९ को चुनावमा एसकेएमले सिक्किममा १७ र चाम्लिङ नेतृत्वको एसडीएफले १५ सिट जितेको थियो ।
चाम्लिङको हारको कारण उनका १० जना सांसदले पार्टी त्याग गर्दै बीजेपी प्रवेश गरेकोलाई मानिएको छ ।
२५ वर्षदेखि निरन्तर सिक्किममा सरकार हाँकिरहेका चाम्लिङले आफ्नै सांसदहरु जोगाउन नसक्नु हारको मुख्य कारण बनेको छ । बीजेपीले उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिले चाम्लिङका १० सांसद पार्टीमा भित्र्याएको थियो ।
पूर्वमुख्यमन्त्री चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म सिक्किमको पाँचौं मुख्यमन्त्री बनेका थिए। उनि भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने पहिलो भारतीय राजनीतिज्ञ पनि हुन् ।