सहकारी ठगीः राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता


नवलपरासी । सहकारी गठीमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भएको छ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले राप्रपाकी संघीय बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको हो ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने संचालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए।

सांसद बस्नेतका ज्वाई (अघिल्लो कार्यसमितिका सचिव) नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका थिए। त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध पनि सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको न्यायाधिवक्ता घिमिरेले बताए । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ता बाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था हुँदा हुँदै पनि सांसद बस्नेतले आफ्ना ज्वाई रिमाललाई झण्डै एक करोड ऋण दिएकाले कारर्वाहीको दायरामा आएकी हुन् । बस्नेत उक्त सहकारीका नत बचतकर्ता हुन नत शेयर सदस्य नै ।

३५ जनाबाट सहकारीको हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ भन्दा धेरै रकम असुलउपर, त्यसको हर्जना र कैद सजायको समेत माग गर्दै मुद्दा गरिएको न्यायाधिवक्ता घिमिरेले बताए ।

न्यायधिवक्ता घिमिरेका अनुसार उक्त सहकारी ठगीमा संलग्न १० जना प्रहरी नियन्त्रणमा र सांसद बस्नेत सहित अन्य २५ जना फरार छन् । जिल्ला अदालतले विपक्षी बनाइएर फरार रहेका सबै २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर सांसद बस्नेतसहित फरार ब्यक्तिहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।

उक्त सहकारीमा ज्यालादारी मजदुर , कृषक र साना व्यवसायी गरि २ हजार ३ सय ९४ जना शेयर सदस्य र बचतकर्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार