काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अस्थायी, करार र दैनिकज्यालादारी रुपमा काम गरिरहेका कर्मचारीले भोग्दै आइरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अस्थायी, करार र ज्यालादारी राष्ट्रसेवकहरुको समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले सो कुरा बताएका हुन्।
एउटै कार्यालयमा काम गर्ने स्थायी कर्मचारी भन्दा अस्थायी, करार र ज्याजादारी कर्मचारीले भोग्ने विभेद बारे आफु जानकार रहेको बताउदै मन्त्री जोशीले आफु र मन्तालयको तर्फबाट यो विभेद अन्त्यका लागि सकेसम्म छिटो भन्दा छिटो पहल गर्ने बताए । मंहगी भत्ता देखि स्थायी कर्मचारीले पाउने जस्तै अन्य भत्ता पनि सबैलाई बराबर हुनु पर्ने उनले बताएका छन्। साथै मन्त्री जोशीले निजामती अस्पतालको समस्या दिर्घकालिन रुपमा अन्त्यका लागि पनि छलफलमा जुटेको जानकारी गराएका छन् ।
मन्त्री जोशीले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा पनि आफु सकारात्मक रहेको र कार्यान्वयनका लागि पहल गरिरहेको बताए । उनले सरकारले अनौपचारीक क्षेत्रका कामदारलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भनेर निती तथा कार्यक्रममा घोषणा गरिसकेकाले करार र ज्यालादारी रुपमा काम गर्ने कर्मचारीलाई समेत यो सेवामा जोड्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थायी कर्मचारीसँगै उनीहरुको भन्दा बढीसमय खटिएर काम गरेपनि करार र दैनिकज्यालादारीमा काम गर्ने कर्मचारीले पाउने सेवा सुविधामा समेत विभेद भएको भन्दै एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले पहिलो पटक कार्यक्रम गरेर सरकारलाई दबाब दिएको हो ।कार्मक्रममा संगठनका महासचिव प्रकाश राईले करार सेवाका राष्ट्रसेवकहरुको समस्याहरु र उनीहरुको पृष्ठभूमिका विषयमा आधार पत्र प्रस्तुत गरेका थिए । प्रस्तुती पछि उनले मन्त्री जोशीलाई उक्त पत्र हस्तानतरण समेत गरेका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने अस्थायी, करार र दैनिकज्यालादारीमा काम गर्ने कर्मचारीले आफुले भाग्दै आइरहेको समस्याका बारेमा जानकारी गराएका थिए। उनीहरुका समस्यालाई सम्बोधन गर्दै संगठनका पूर्व अध्यक्ष तथा संल्लाहकार उपसचिव मोहन घिमिरेले संगठनले उनीहरुले भोग्दै आइरहेका समस्यालाई मसिनो गरी अध्ययन गरेर समाधानका लागि माथिल्लो निकायसम्म पुगेकाले त्यसको समाधान गरेरै छोड्ने दाबी गरेका छन् ।
कार्यक्रममा संगठनका अध्यक्ष यमबहादुर खत्रीले यो समस्या कुनै एक जनाको मात्रै नभई सम्पूर्ण कर्मचारीहरुको भएकाले कर्मचारी भित्रको विभेद अन्त्यका लागि सबैले आ- आफ्नो ठाउँबाट लाग्न आग्रह गरेका छन्।
कार्यक्रम शनिबार जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियो ।