धर्मगुरु भनिने रामबहादुर बम्जन बलात्कार मुद्धामा दोषी ठहर


सर्लाही । लिटिल बुद्ध भनेर प्रचार गरिएका धर्मगुरु रामबहादुर बम्जन यौन दुराचार मुद्धामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनलाई कस्तो सजाय हुने भन्नेबारे यहि असार १७ गते आदेश हुने समेत स्रेस्तेदार अधिकारीले बताए ।

बम्जनसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । ज्ञानकुमार र जितबहादुरलाई मतियारको दोषी ठहर गरिएको छ ।

रौतहटकी गंगामायाले आफू आश्रममा बस्दा गुरु बम्जनले पटक पटक बलात्कार गरेको भन्दै २०७३ साल साउन २० गते जाहेरी दिएकी थिइन्। पीडित बालिकालाई महिला अधिकारकर्मीको सहयोगमा २०७६ भदौ ३० गते ललितपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा पीडित बालिकाले आफु गुरु बम्जनबाट पटक पटक बलात्कृत भएको वयान दिएकी थिइन् ।

बालिकाको जोहेरीको आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८० पुस २४ गते काठमाडौंको हात्तीगौडास्थित एक घरबाट करोडौं नेपाली र विदेशी रुपैयासहित पक्राउ गरेको थियो । प्रहरीले उनलाई जाहेरी परेदेखिनै खोजिरहेको भएपनि पक्राउ गर्न सकेको थिएन् । पक्राउ पछि उनलाई सर्लाही अदालतले २०८० पुस २७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको समेत अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको आरोप छ भने सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी छ ।

बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार बम्जनविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था अनुसार गंगामायाले आफु १८ वर्षपुगेपछि जाहेरी दिएकी थिइन्। उक्त घटनामा प्रहरीले अनुसन्धान गर्दै बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

बम्जनका अनुयायीहरुले भने गुुरुमाथि विभिन्न षडयन्त्र गरेर फसाइएको बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार