काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्मम समिक्षा गरेका महामन्त्री डा.मुकुल ढकाललाई निर्मम कारवाही गरिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले नेता ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउदै निर्मम कारवाही गरिएको हो ।
रास्वपाको अनुशासन आयोगले पार्टीसदस्यता समेत नरहने गरी कारवाही गर्नुपर्ने सिफारीस गरेको भएपनि केन्द्रिय बैठकमा अधिकांस सदस्यहरुले ढकालको सदस्यता कायम राखिनु पर्ने बताएपछि अन्य कारवाही गरिएको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रास्वपा नेता सोबिता गौतमले ढकाललाई केन्द्रीय समितिको रायअनुसार साधारण सदस्य कायम राखेर पार्टीको अन्य जिम्मेवारीबाट हटाइएको जानकारी दिइन् ।
ढकाललाई केन्द्रीय समितिले कारवाही गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको नेता गौतमले बताइन्। रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने पार्टी विधानमा व्यवस्था छ ।
ढकालमाथि पार्टीको समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा कारवाही गरिएको रास्वपाले जनाएको छ ।
गत बुधबार बसेको रास्वपाको बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
ढकालले सभापति रवि लामिछानेको क्लवले गरेको कारवाही मान्य नुहने प्रतिृकया दिएका छन् ।