काठमाडौं–तराई द्रुतमार्गको धेद्रे सुरुङको प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु


मकवानपुर । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्य्राक) मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं–तराई द्रुतमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

उनले सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै ‘ब्रेक थ्रु’ गरेका हुन्।
त्यस्तै सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको १.६५ किमि गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो ।

पोलि छङ्गदा निर्माण कम्पनीले मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङहरु वारपार छेडिएको जनाएको छ ।

ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरुको पनि सहभागीता थियो ।

कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ ।

यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

२१ बैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको छ जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।

अहिले ६.५ किलोमिटरदेखि ७०.९७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुआती बिन्दुबाट ६.५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन सकेको छैन । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुत मार्ग बन्दैछ ।

महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको छ । त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।

फास्ट ट्य्राकको कुल दूरी ७०.९७७ किमि हो, जसमध्ये ६४.४७ किमिको मात्र ठेक्का भएको छ । खोकना खण्डको ६.५ किमि खण्डमा ठेक्का हुन सकेको छैन । सेनाका अनुसार कुल सडकमध्ये १०.३० किमि सुरुङ र १२.८८ किमि पुलको दूरी पर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार