बालेनलाई संकेत गर्दै प्रधानमन्त्रीले भनेः अहंकार र दम्भबाट निर्देशित नहुनुस


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुले जनतामा अहंकारर दम्भ नदेखाउन आग्रह गरेका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित गरेकाले अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरेका हुन् ।

उनले काठमाडौंमहानगरका मेयर बालेन शाहप्रति लक्षित गर्दै नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि भइरहेको दमन रोक्न आग्रह गरेका थिए। तर, उक्त कार्यक्रममा उपत्यका मेयरहरु सहभागी भएपनि बालेन भने भएका थिएनन् । उनले उपमेयर सुनिता ढंगोललाई पठाएका थिए ।

प्रधानमन्त्री ओलीले जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार जनप्रतिनिधिसंग नभएको समेत बताए । उनले सडकमा हिँडेका जनताहरुले जनप्रतिनिधिका बारेमा गरेका गुणगान सक्कली र दिगो हुने तर सामाजिक सञ्जाल र नक्कली आइडीबाट गरिएका प्रशंसामा फुरुगँ नहुन आग्रह पनि गरे ।

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न समेत उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठूलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा अघि बढ्नु पर्ने बताए।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागेका छन् । प्रधानमन्त्री ओलीले उपत्यकाका समस्या हल गर्न र पानी, फोहोरमैला लगायतका समस्या समाधानमा सरकार पनि सजग रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार