
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणमा रहेकी उनले आज साँझ नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् ।
उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरिएको राणाको सचिवालयले जनाएको छ।

शिष्टाचार भेटमा नेपालको तर्फबाट दिल्लीस्थित भारतका लागि नेपाली कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा लगायतको उपस्थिती थियो ।
भारतको तर्फबाट प्रधानमन्त्री मोदीसहित, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।
परराष्ट्रमन्त्रि राणाले आजै दिउँसो समकक्षी विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।










