
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गर्ने सहमती भएको छ ।
संघीय सरकारमातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा मन्त्रालय र केन्द्रबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालहरुका उपकरणलाई कामयापी, चुस्त र व्यवस्थित गर्नका लागि अविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको स्वास्थ्यमन्त्री पौडेलले बताए ।
अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने मन्त्री पौडेलको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष डा. पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको र सम्झौताअनुसार काम गरिने बताए ।
अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्छन र कुन अवस्थामा छन् भनी केन्द्रले यकिन गर्ने र बनाउन सकिने र नसकिने पहिचान गर्ने पुनले बताए । सरकारी अस्पतालहरुका उपकरणलाई ठिक अवस्थामा राखेर जनतालाई सेवा दिन सकिए धेरैको ज्यान बचाउन सकिने उनको भनाई छ ।











