काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।
निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् । यसैगरी, विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्ऽ विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?
वैधता जाँच्न बाबुआमाको माग
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ ।
‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् ।
‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।
बाबु यज्ञराजले पनि प्रमाणका रुपमा संकलित ‘भेजिनल स्वाब’ माथि शंका लागेको भन्दै आवश्यक परिक्षण गरेर भए पनि दोषी पत्ता लगाउनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई जोमाथि शंका थियो, उनीहरुको रिपोर्ट मिलेन भने कसका लागि सबै प्रमाण नष्ट गरेका हुन्, उनीहरुले भन्नुपर्छ ।’
संकलन र संरक्षण विधिको प्रश्न
जानकारहरुका अनुसार यस्ता घटनामा संकलन गरिने प्रमाण सही हो वा होइन भन्ने मात्र होइन, कसरी संकलन र संरक्षण गरियो भन्ने पनि महत्वपूर्ण हुन्छ । सही रुपमा संकलन गरिएन वा प्याकिङ मिलेन भने पनि कन्टामिनेसन अर्थात प्रदुषित हुन्छ ।
एक प्रहरी अधिकारीले सुनाए, ‘मदन भण्डारीको रगतको नमुनामा पनि कन्टामिनेसन भेटिएको रहेछ । रिपोर्टमा बेहोस पार्ने केमिकल देखिएको थियो, जुन वास्तविक थिएन ।’ साभार- अनलाइनखबर