काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी नियुक्त गरेका हुन् । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।
करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम प्राप्त गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेको सेनाले जनाएको छ।
सिग्देल उपरथीबाट रथीमा बढुवा हुँदा उनको नागरिकता र शैक्षिक प्राण पत्रमा जन्म मितिमा गडबल गरेको अरोप लागेको थियो । उक्त आरोपबारे स्वयम नेपाली सेना र सरकारका अन्य निकायले छानविन गर्दा त्रुटि नभेटिएपछि रथीमा बढुवा भएका थिए ।
नागरिकता र शैक्षिक प्रमाण पत्रमा जन्म मितिमा गडबल भएकोआरोपबाट सफाइ पाएपछि सिग्देललाई प्रधानसेनापति बन्न बाटो खुलेको हो । उनको नागरिकता र शैक्षिक प्रमाण पत्रको जन्म मितिमा भएको गडबलबारे छानविन हुनुपर्ने भन्दै न्यायीक अभियन्ता युवराज सफलले आवाज उठाउंदै आएका थिए ।