माओवादी केन्द्रप्रति देशैभर आकर्षण बढ्दै,महोत्तरीमा काँग्रेस, एमाले,जसपा त्यागेर माओवादी प्रवेश

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् ।

पार्टीका नेता, कार्यकर्ता जगाउँदै महोत्तरी जिल्लाको रामगोपालपुर पुगेका अध्यक्ष प्रचण्डले पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका हुन् ।
रामपुरमा आयोजित कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार र सुशासनको पक्षमा गरेको राम्रो कामका कारण पार्टीप्रति जनताको आकर्षण बढेको प्रष्ट पारे ।
विभिन्न जाति सुमदायको पहिचान र अधिकारको लागि लड्ने पार्टी भनेकै माओवादी भएको र पछिल्लो पटक सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम भएर कारवाही अघि बढाएकाले जनताको आसा फेरि माओवादीप्रति बढेको प्रचण्डको ठम्याई छ ।

‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरी फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ, प्रचण्डले भने ।

राजनीतिक हिसाबले अहिले पनि मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको समेत उनले बताए ।

जनयुद्ध र जनआन्दोलनको जगमा संविधासभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी, धर्मनिरपेक्षता लगायतका सबै आजका उपलब्धी माओवादीकै कारण भएको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकासहुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको बताए ।

कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, वीरेन्द्र मण्डल, विजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार