प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, साथमा परराष्ट्रमन्त्री डा. राणा पनि


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज बिहान प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीसंगै पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने स् वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले भ्रमण तालिका अनुसार असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने भ्रमण तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तालिका छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने भ्रमण तालिका छ । अमेरिका भ्रमणबाट प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार