काठमाडौं । धरानका मेयर हर्क साम्पाङले धम्काएका पत्रकार गोपाल दाहालले आफुले असुरक्षित महसुस गरिरहेको बताएका छन् । मेयर साम्पाङले समाचारको बिषयलाई लिएर पत्रकार दाहाललाई सिध्याइदिने धम्की दिएका थिए । उनको धम्कीपछि आफु असुरक्षित महसुश गरिरहेको पत्रकार दाहाले संचार माध्यमलाई बताएका छन् । पत्रकार दाहालले मेयरबाट धम्की आएपछि सुरक्षा खतराको महसुस गर्दै घर भन्दा टाढा कतै ननिस्किएको समेत बताएका छन् ।
दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि समेटिएका छन् ।
जसमा मेयर साम्पाङले आपत्ति जनाउँदै पत्रकार दाहाललाई दिने धम्की दिएका हुन् ।
हर्कले फेसबुक स्टाटसमा लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन।’
उनको अर्को स्टाटसमा ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् ।
समाचारको बिषयलाई लिएर मेयर साम्पाङले धम्की दिएकाबारे नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
समाचारका बिषयमा मेयर साम्पाङले आज पत्रकार सम्मेलन गर्दै आफ्नो बारेमा लेखिएको समाचार झुठा र भ्रमपुर्ण रहेको भन्दै खण्डन गरेका छन् । उनले सहि र तथ्यपुर्ण समाचार लेखेर जनतालाई सूचना प्रवाह गर्न समेत पत्रकारहरुलाई आग्रह गरेका छन् ।