सिराहा । महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहाको औरही गाउँपालिका–५ मा रहेको दीपक मरिक डोमको घर भत्काएको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको हो।
उनिहरुलाई आज साँझ प्रहरीले पक्राउ गरेर अनुसंन्धान गरिरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यले जानकारी दिए।
दुबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर अनुसंन्धान भइरहेको डीआईजी आचार्यले बताए । पीडितका तर्फबाट किटानी जाहेरी आएपछि कानुनी प्रकृया अगाडी बढ्ने प्रहरीको भनाई छ ।
घटना यस्तो छ
यहि चैत १७ गतेबाट सो स्थानमा विष्णु महायज्ञ लगाउने भन्दै सरकारले नै बनाइदिएको मरिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षकै निर्देशनमा भत्काएको थिए ।
महायज्ञ लगाउने स्थानमा दलित, अछूतको घर भएकाले त्यसलाई हटाउनु पर्ने यज्ञमा आउन लागेका बजरंगी बाबाले नै आदेश दिएपछि गाउँपालिका अध्यक्षले मरिकको घर भत्काउन डोजर पठाएका थिए ।
उनिहरुले महायज्ञ लगाउने नाममा एउटा दलितको घर मात्रै भत्काएनन् अपवित्र हुने भन्दै घर बनेको माटोलाई पनि दुई फिटसम्म खनेर फाले ।
सुकुम्बासी दलित परिवार दुई दशक अघिदेखि त्यहाँको सार्वजनिक जग्गामा बसिरहेको थियो । पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर बनाइदिएको थियो । तर, महायज्ञ लगाउने नाममा ढोंगी र पाखण्डी बाबाको आदेशमा स्थानिय सरकारले प्रदेश सरकारको कामलाई चुनौती दिदै मरिकको घर भत्काइ दियो ।
स्थानिय सरकारले मरिकको घर भत्काएर अहिले उनिहरुलाई स्थानिय सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घरमा सारेको छ ।
स्थानिय सरकारले मरिक परिवारलाई त्यहाँबाट हटाउन जबरजस्ती घर सारेको कागजमा सहि गर्न लगाइएको समेत बाहिरिएको छ ।
मरिकको सात जनाको परिवार अहिले बिचल्लीमा छ ।
विद्यालयको जग्गामा बनाइएको फुसको घरमा नत बिजुली छ नत खानेपानीको ब्यवस्था नै ।
मधेश प्रदेशमा मरिक समुदायलाई जातीय रुपमा चरम विभेद गरिन्छ । एउटा उत्पीडित समुदायमाथि धर्मका नाममा भएको ज्याजदीको सर्वत्र विरोध भइरहेको छ । महायत्र लगाउने नाममा दलित परिवारको घर उजाड गर्नेहरुमाथि हदैसम्मको कारबाही हुर्ने भन्दै चर्को आवाज उठिरहेको छ ।