पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.देवीलाल शर्मालाई पदमुक्त गरिएको छ । उक्त क्याम्यसमा अध्यनरत विद्यार्थीहरूमाथि प्राध्यापक शर्माले जातीय विभेद गरेको आरोप लागेपछि उनलाई पदमुक्त गरिएको हो ।
गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन परियारलाई जातीय विभेदजनक भाषा प्रयोग गरेर गाली गलौच गरेका थिए ।
घटनापछि दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन र तेराइ ल स्टुडेण्ट एशोसियसनले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । तीन वटै विधार्थी संगठनहरुले विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गर्दै शर्मामाथि हदैसम्मको कारबाहीको माग गरेका छन्।
आरोपपछि क्याम्पसले शर्मालाई जिम्मेवारीबाट हटाएको जनाएको छ । क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पत्र पठाएर निलम्बनको जानकारी गराएका छन् ।
‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईँलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको ब्यहोरा जानकारी गराइन्छ’, क्याम्पस प्रशासनले शर्मालाई पठाएको पत्रमा भनिएको छ ।
क्याम्पसको प्राध्यापक जस्तो ब्यक्तिले जातीय विभेद गर्नु अत्यन्त घृर्णित र कारबाही योग्य घटना भएकाले शर्मामाथि कानुनी कारबाही पनि हुनुपर्ने दलित अधिकारकर्मीहरुले आवाज उठाइरहेका छन् ।