नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण हुने, भोलि बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरिने

काठमाडौं । नेपालको आफ्नै भुउपग्रह प्रक्षेपण हुने भएको छ । भोलि बिहान २ बजेर ३१ मिनेटमा भूउपग्रह प्रक्षेपण हुने भएको हो । ‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ । ढकालले भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्ने बताए ।

नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ । उक्त स्टेशन निर्माणका लागि २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार