
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व पुगेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउनको लागि उनी रुकुमपूर्व पुगेका हुन् ।
त्यहाँ पुगेर प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेको बताएका छन् । ‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ । म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,’ उनले भने ।
त्यहाँ प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गरे । उनले शान्ति प्रक्रियाको महत्वपूर्ण निर्णय भएको सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरे ।
रुकुमपूर्व पुगेपछि उनी चुनावी तयारीमा जुटेका छन् । उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक छलफल र परामर्श तीव्र पारेका छन् ।
३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वमा २०७९ मा माओवादीकै उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला माओवादी कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डले नेकपा माओवादीको राजनीतिक आधारभूमि मानिने रुकुम पूर्व रोजेका हुन् ।












