कर तिर्न एनसेललाई दिइएको २४ घण्टे अल्टिमेटम सकिदै, नेकपाका युवा नेताहरु अब के गर्लान ? (भिडियोसहित )

काठमाडौं । सत्तारुढ नेकपाका युवा नेताहरुले सरकारलाई कर तिर्न एनसेललाई दिइएको २४ घण्टे अल्टिमेटम सकिदैछ । बिहीबार नेकपाका बिधार्थी र युवा संगठनका नेताहरुले संयुक्त विज्ञप्ती जारि गर्दै एनसेललाई कर तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए, जुन समयसिमा आज सकिदैछ ।

युवा नेताहरुले विज्ञप्ती मार्फत कर नतिर्ने एनसेल कम्पनीको सेवा नलिन सबैमा अपिल समेत  गरेका छन् । कर नतिरेसम्म एनसेल सिम प्रयोग नगर्न उनिहरुको आग्रह छ ।
तोकिएको समयसिमा भित्र कर तिर्ने प्रकृया समेत सुरुवात नगरेमा एनसेल बिरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु सुरु गर्ने नेकपाका युवा नेताहरुले हिजै एनसेललाई चेतावनी दिइसकेका छन् ।

सरकारले एनसेलबाट कर उठाउन नसकिरहेको भन्दै चौतर्फी आवाज उठिरहेका बेला सत्तारुढ दलकै युवा नेताहरु आन्दोलित भएका छन् ।
जारि अपिलमा वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्तिमार्फत एनसेलले सरकारलाई २४ घण्टाभित्र कर तिर्न आग्रह गरेका थिए ।

जारि संयुक्त विज्ञप्तिमा लेखिएको छ, राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’

यता, सर्वोच्च अदालतले ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

साथै ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै वैशाख २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन ९१० वैशाख भित्र तिर्न पत्र काटेको थियो ।

तर, ठूला करदाता कार्यालयले आफ्नो अधिकार सीमा उल्लंघन गरेर कर निर्धारण गरेको दाबी गर्दै ९ वैशाखमा एनसेल सर्वोच्च गएको थियो । एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र लाभकर तिर्न बाँकी रहेको एनसेलको दाबी छ ।

भिडियो हेर्नुहोस !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार