इजरायली सेनाले आक्रमण गर्दा १४ महिने शिशुसहित चारको मृत्यु

काठमाडौं । इजरायली सेनाले आक्रमण गर्दा १४ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ । शनिवार चरमपन्थी समूहले प्यालेस्टाइन क्षेत्रमा २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि सेनाले जवाफी कारवाही गरेको जनाएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार चरमपन्थीको रकेट आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
चरमपन्थीले रकेट आक्रमण गर्न थालेपछि त्यसक्षेत्रमा खतराको संकेतस्वरुप साइरन बजाइएको थियो ।

गजापट्टीको सीमावर्ती इजरायली क्षेत्रमा भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का अनुसार प्रतिरक्षा प्रणालीबाट केही रकेटहरुलाई आकाशमै निस्तेज पारिएको थियो ।

यस हमलाको जवाफमा आईडीएफले हमासको प्रभाव क्षेत्र रहेको गजाको तीन स्थानमा हवाई र ट्यांकमार्फत् आक्रमण गरेको थियो । आक्रमणको निसाना इस्लामिक जिहादलाई पनि बनाइएको थियो ।

इस्लामिक जिहादले शुक्रबार सेनाले गरेको आक्रमणको जवाफमा आफूहरुले रकेटमार्फत् हमला गरेको जनाएको छ । इजरायल सरकारले संघर्ष विरामको सम्झौता उल्लंघन गरेको उक्त समूहको आरोप छ । इजरायलमा अप्रिलमा सम्पन्न चुनावको बेला दुवैतर्फबाट संघर्षविरामको घोषणा गरिएको थियो । तर, अहिले फेरि तनाव बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार