काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् ।
संसदमा दर्ता भएको विधेयक फिर्ताको माग राख्दै सोमबार ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँगको भेटमा उनले भने, “विधेयकबारे संसद र सदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग हुनेछ, यस बिषयमा संचारमन्त्रीसंग पनि छलफल गर्नेछु ।”
भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधेयकमा दस लाख जरिवाना र जति मन लाग्यो त्यति क्षतिपूर्ति तिराउन सक्ने, काउन्सिललाई प्रेसलाई तह लगाउने सरकारको एउटा अंग बनाउन लागेकोप्रती आफुहरुको कडा आपत्ती रहेको बताएका थिए ।
विधेयक तुरुन्त फिर्ता लिएर सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनु पर्नेमा उनिहरुले जोड समेत दिए ।
साताव्यापी आन्दोलन घोषणा गरेको महासंघले आजै मध्याह्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई समेत भेटी ज्ञापनपत्र बुझाउन बुझाउका छन् ।
आन्दोलनकै कार्यक्रम अनुरुप महासंघले वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गर्दैछ ।
विधेयकको विरोधमा जेठ १ गते पत्रकारहरुले कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र त्यही दिन महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालमया सरोकार पक्षबीच वृहत छलफल गरिने कार्यक्रम तय भएको छ ।
महासंघले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अनुसार जेठ ३ गते संघिय संसद् भवन बाहिर र प्रत्येक जिल्ला सदरमुकाममा सञ्चार साधनसहित पत्रकारहरुले वृहत प्रदर्शन गर्नेछन् ।