काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ए आयोजनाले आजदेखि विद्युत उत्पादन सुरु गरेको छ । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार उत्पादन मेसिनको स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् ।
रसुवा र नुवाकोटमा निर्माण भएको ३० मेगावाट बिधुत बिहीबारबाट उत्पादन सुरु भएपनि शुक्रबार साँझदेखि पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिसकेपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
उनका अनुसार कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो ।
माथिल्लो त्रिशूली थ्री ए नियमित संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने कार्यकारी निर्देशक घिसिङको भनाई छ।
प्राधिकरणका अनुसार आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ । ९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिलासुस्ती हुँदै आएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ ।