काठमाडौं । त्रिशुलीमा यात्रुवाहक बस खस्दा मृतक र घाईतेहरुको अझै सनाखत हुन सकेको छैन् । मृतकहरुसंग परिचय खुल्नेखालको कुनै प्रमाण नभेटिएका कारण सनाखतमा समस्या भएको प्रहरीले जनाएको छ ।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु वाहकबस आइतबार बिहान धादिङको बन्छेटारबाट त्रिशुली नदीमा खस्दा पाँच यात्रुको मुत्यु भएको छ भने दुई दर्जन घाईते भएका छन् ।
मृतकहरुमा चार पुरुष र एक महिला रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाईते २५ जनामध्ये गम्भिर १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्यको गजुरीस्थित अस्पतालमा उपचार भइरहेको छ । बसका चालक सम्पर्कमा नभएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन ।