घटनामा संलग्न ७ जना पक्राउ

काठमाडौं । लागूऔषध सम्बन्धी कारोबारोमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान लागूऔषध सहित ७ जनालाइ बाँकेको नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी बताएको छ ।

पक्राउ पर्नेमा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँ, एक ग्राम ब्राउनसुगर सहित घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का, नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठ, नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ ।

प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ । प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ ।

नेपालगंज बजारबाट भारतीय सिमा नाकामा रहेको रुपैडिहा बजार नजिकै पर्ने भएकाले अधिकाश व्यक्ति किनमेलका लागि रुपैडिहा जाने गर्दछन् । खुल्ला सिमानका कारण लागुऔषधका साथै अन्य सामान पनि किनबेच बढेको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार