बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका आर्थिक अवस्था कम्जोर भएका १९ जना बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको छ । पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित युवा सशक्तिकरण बुल्गारी (BVLGARI) परियोजना अन्तर्गत बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको हो ।
आर्थिक अवस्था कम्जोर भएका कारण पढाईमा समस्या भोगिरहेका ति विद्यार्थीलाई पहिलो किस्ता बाफत ४ हजारका दरले सहयोग गरिएको छ । उनीहरुलाई वर्षमा तीन किस्तामा सहयोग प्रधान गरिने परियोजना संयोजक धर्म रोकायाले जानकारी दिएका छन् ।
परियोजनाले जिल्लामा आफ्नो कार्यक्रम लागु भएका ठाउँका विपन्न र आर्थिक अवस्था कम्जोर भएका माध्यामिक तहमा अध्यनरत ७० जना बालबालिकालाई आर्थिक सहयोग गरेको छ । परियोजना त्रिवेणी नगरपालिकाका चारवटा विद्यालयसहित जिल्लाका १४ ओटा माध्यामिक विद्यालयमा संचालन भइरहेको छ ।
सहयोग गर्ने प्रक्रिया
अध्यनरत बालबालिकाको आर्थिक अवस्थाका बारेमा विद्यालयले नै बुझेर सहयोगका लागि सिफारिस गर्छ । विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र बाल क्लवको संयुक्त बैठककाे निर्णयले बालबालिकालाई छनौट गरेपछि परियोजनाले सहयोग गरेको हो ।
सहयोग आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयमा उपस्थित हुन नसक्ने र बीचैमा विद्यालय छोड्ने विद्यार्थीले पाएका छन् । अरु तह भन्दा माध्यामिक तहमा पुगिसकेका विद्यार्थीले बीचैमा विद्यालय छोड्ने दर बढेकाले उनीहरुलाई नै सहयोग गरिएको बताइएको छ ।
त्यसैगरी छनौट् भएका विद्यार्थीलाई त्रिवेणी नगरपालिकाको न्यू भिजन सहकारी संस्थाको सहजीकरणमा शैक्षिक सहयोग उपलब्ध गराइएको हो ।
शिक्षकले दिए सकारात्मक प्रतिक्रिया
आर्थिक अवस्था कमजोर भएकै कारण बीचैमा विद्यालय छोड्ने दर कम हुने पार्वति मावि सिम्लाका प्रधानाध्यापक नन्दलाल जौशीले बताएका छन् । आर्थिक सहयोगले विद्यार्थीको पढाईमा सहयोग पुग्नुका साथै विद्यार्थीको नियमितता बढ्ने विश्वास गरे ।
त्यसैगरी यस्ता विद्यार्थीको पढाईमा सहयोगका लागि नगरपालिकाको आगामी योजना तर्जुमामा बाल अनुदान कोषको स्थापनाका लागि पहल गर्ने नगरपालिका शिक्षा शाखा प्रमुख रतन बहादुर अयडीले बताएका छन् ।
सन् २०१६ देखि संचालनमा रहेको परियोजनाले जिल्लाका तिनवटा नगरपालिकाका आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई बार्षिक प्रति बालबालिका दश हजारका दरले सहयोग गर्दै आइरहेको छ ।
परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउनुका साथै, गई गरहेकालाई निरन्तरता दिनका लागि सचेतनाका कार्यक्रम संचालन गर्दै आइरहेको छ ।