कैलालीमा सत्र सय महिला आत्मरक्षा सीप सिक्दै

धनगढी । कञ्चनपुरमा एक किशोरीको बलात्कारपछि भएको हत्याका कारण त्रास देखा परेको सुदुरपश्चिम प्रदेशमा महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर शुरु भएको छ।

धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी छन्। आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्न त्यस्ता शिविर सबै प्रदेशमा आयोजना गरिने जनाएको छ।

हिंसाबाट जोगिन आधारभूत ज्ञान दिइने बताउँदै सङ्घका महासचिव प्रकाश चन्दले भने, “हामीले शारीरिक अभ्याससँगै आत्मबल बढाउने तालिम पनि दिन्छौं।”

आत्मविश्वास

उक्त प्रशिक्षणले महिलाको आत्मबल पनि बढाउने विश्वास आयोजकसँगै प्रशिक्षार्थीको पनि छ।

एकजना सहभागी रक्षा बमले भनिन्, “निर्मला पन्तले जस्तो हिंसाको शिकार बन्नु नपरोस् भनेर शिविरमा सहभागी भएका हौं।”

अर्की सहभागी निरशी चौधरी पनि नि:शुल्क तालिम लाभदायक हुने ठानेर सहभागी भएको बताइन्।

उनी भन्छिन्, “यस्तो महिला हिंसा भइरहेका छन्। त्यस्ता घटनाबाट जोगिने उपाय सिक्न आएकी छु।”

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टको विचारमा यस्तो प्रशिक्षणले महिलामा आत्मविश्वास पनि बढाउँछ।

महिला सुरक्षा

उनले भनिन्, “अभ्यास गरेका महिलामा शारीरिक र मानसिक रूपले प्रतिवाद गर्ने विश्वास बढ्ने देखिन्छ।”

युथ फर रोड सेफ्टी नेपालकी अध्यक्ष रोजिता पाण्डेयले पनि यस्ता प्रशिक्षणबाट महिला सुरक्षामा टेवा पुग्ने ठानेकी छन्।

उनी भन्छिन्, “कुनै पनि बेला एक्लै हिँड्न सक्ने मनोबल महिलामा उत्पन्न गराउने यस्ता प्रशिक्षणले महिला सुरक्षामा सहयोग पुग्ने देखिन्छ।”

नेपाल प्रहरीको तथ्याङ्कअनुसार एकवर्षमा १४ सय ८० वटा बलात्कारविरूद्धका उजुरी दर्ता भएका छन्।

पछिल्ला दिनमा देशव्यापी रूपमा बलात्कार लगायतका महिला हिंसाविरुद्ध आन्दोलन भइरहेका छन्।-बिबिसिनेपाली

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार