चर्चित गायिका डिक्रादेवीको एतिहासिक ठाडी गीत ‘सुवा काँ भागिग्या’ सार्वजनिक (भिडियोसहित)

कैलाली । चर्चित देउडा गायिका डिक्रादेवीको नयाँ एतिहासिक देउडा ठाडी गीत सुवा काँ भागिग्या सार्वजनिक गरिएको छ । कैलालीको धनगढीस्थित रुबस होटलमा आयोजित भव्य विमोचन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री कृष्णराज सुबेदीले गीत सार्बजनिक गरेका हुन ।

अनमोल क्रिएटिभ मिडिया प्रालीले तयार पारेको उक्त गीतमा स्वर डिक्रादेवी वादीको छ । गीतमा शब्द, संगीत र भिडियो कन्सेप्ट अनमोल क्रिएटिभ मिडियाका प्रबन्ध निर्देशक पत्रकार केपी अनमोलको रहेको छ ।

गीतको भिडियो रमेस बिजुली बिसीले निर्देशन गरेका हुन । राजेश बिकले छायांकन गरेको गीतको भिडियोमा रमेश बिजुली बिसी, सविता सुनार, चाँदनी बोगटी, आयुश मिजार, सोनु बिक र सेतु बिकको अभिनय रहेको छ ।

भिडियोको सम्पादन भने मीन रावलले गरेका छन् । प्रकास नागरीले ड्रोन क्यामेरामार्फत खिचेका रमणिय दृष्यहरु गीतको भिडियोमा देख्न सकिन्छ । देउडा क्षेत्रको ठाडी भाकाको भिडियोमा पहिलो पटक ड्रोन क्यामेरामार्फत खिचिएका दृष्यहरु समावशे भएका छन् ।

डिक्रादेवीको पहिलो एतिहासिक डाठी भाका

करिब दुई हजार भन्दा बढि देउडा भाकाहरु गाइसकेकी डिक्राले दश बर्षपछि गाएको सुवा काँ भागिग्या गीत आफैमा एतिहासिक छ । डिक्राले गाएका हजारौं गीतमध्ये उनको जिवनकै यो पहिलो डाठी भाका भिडियोसहित बजारमा आएको हो ।

देउडा ठाडी गीतमा पहिलोपटक प्रयोग गरिएको ड्रोन क्यामेराले पनि यो गीत एतिहासिक बन्न पुगेको छ । करिब २४ बर्षको सांगितीक यात्रामा डिक्रा बिगत दशबर्षदेखि आर्थिक अभाव र विभिन्न कारणले देउडाबाट ओझेल परेकी थिइन ।

डिक्रालाई आर्थिक सहयोगसहित सम्मान

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि एन जोशीको अध्यक्षतामा बुधबार सम्पन्न भव्य गीत विमोचन कार्यक्रममा डिक्रालाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिन्न्दन गरियो । अनमोल क्रिएटिभ मिडियाले गरेको उक्त अभिन्न्दन कार्यक्रममा डिक्रालाई नगद आर्थिक सहयोग पनि जुट्यो ।

डिक्राकै बसोबास रहेको कंचनपुरको कृष्णपुर नगरपालीकाले उनलाई ५१ हजार आर्थिक सहयोग र हुरीले क्षती गरेको उनको घर मर्मतमा समेत सहयोग गर्ने घोषणा गरेको हो ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले उक्त आर्थिक सहयोगको घोषणा गरेका हुन । कार्यक्रममा डिक्रालाई कर्णाली अडियो भिडियो रेर्किडिङ स्टुडियो अत्तरियाले पनि १० हजार सहयोग गर्ने घोषणा गरेको थियो ।

कार्यक्रममा प्रमुख अथिति सामाजिक विकास मन्त्री सुबेदीसहित नेकपा संसदिय दलका प्रमुख सचेतक सांसद तारा लामा तामाङ, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले समेत डिक्राले सुदूरपश्चिमको लोक संस्कृतीमा पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा उनलाई आवश्यक सहयोग गर्ने बचन दिएका थिए ।

कार्यक्रममा सांसद उमा बादी, दुर्गा बिक, शान्ती नेपाली, कुलबिर चौधरी, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी , संस्कृतिविद् पदमराज जोशी लगाएत सुदूरपश्चिमका कलाकार र पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा पत्रकार अनमोलले गायिका डिक्रादेवीलाई पुनह संगीतमा फर्काउने उदेश्य र उनलाई राज्यले गर्नुपर्ने सम्मान र सहयोगका बिषयमा चर्चा गरेका थिए। अनमोल क्रिएटिभ मिडिया काठमाडौंले कैलालीका अन्य विभिन्न दश वटा संघसंस्थाहरुसंग समन्वय गरि उक्त स्रष्टा तथा एल्वम् विमोचन समारोहको आयोजना गरेको थियो ।

समन्वय संस्थाहरुमा कैलाली जनपुस्कालय, सुप साहित्य समाज धनगढी, दलित साहित्य सोपान कैलाली, धनगढी उपमहानगरपालिका कैलाली, कृष्णापुर नगरपालिका कंचनपुर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलाली, दलित महिला अधिकार मंच कैलाली, एफएमडिसी कैलाली, एभिन्युज खबर नेटवर्क सुदूरपश्चिम प्रदेस ब्युरो कार्यालय धनगढी, खुलासा मिडिया हाउस डडेल्धुरा, दिनेश एफएफ धनगढी, धनगढी एफएम, मिसन अम्बेडकर नेपाल रहेका थिए ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार