जाडोमा बाथबाट कसरी जोगिने ?

धादिङ केवलपुरकी  ३० वर्षीया कमला पौडेलको सात वर्षपहिले हात र खुट्टाको जोर्नी अत्याधिक दुख्नुका साथै झमझमाउने समस्या भयो । उनी त्यसपछि धामीकोमा गईन् । तर निको भएन । अझ समस्या बढ्दै गयो । उनको हातका आै‌ला र जोर्नी सुन्निने र बाङगिने अवस्था आयो ।

 उनी करिब २ घण्टा हिडेर धादिङको एक  स्वास्थ्य केन्द्रमा गइन् । त्यहाँ उनलाई काठमाडौंको बीर अस्पताल जान सुझाइयो । उनी तुरुन्तै बीर अस्पताल पुगिन् । अस्पतालमा उनलाई चिकित्सकहरुले चेकजाचँ गर्दा बाथ रोग पत्ता लाग्यो । अहिले उनका दुबै हातका औंलाका जोर्नी कामै  नगर्ने भएका छन् । उनी नियमित बाथ रोगको औषधी सेवन गरिरहेकी छिन् । उनी भन्छिन् । “ सुरुमा थाहा भएन । धामीको भर गरियो । समयमै उपचारका लागि अस्पताल गएको भए हातका औंलाहरु बाङ्गा हुने थिएनन् । अहिले हातले केही काम गर्दैनन् । ”

सिन्धुपाल्चोकका४० वर्षिय नन्दलाल थिङलाई गतवर्षको जाडोमा आफ्नो शरीरका जोर्नी अत्याधिक दुख्ने तथा करकर खाने समस्या देखियो । तर, उनी  उपचारका लागि अस्पताल गएनन्  । यो वर्षको जाडो शुरु भएलगत्तै उनका जोर्नीहरुमा अत्याधिक दुख्न थालेपछि उनी बीर अस्पताल पुगे । उनका अनुसार कार्तिक महिना लागे देखिनै उनका हातखुट्टाका औलाको जोर्नी दुख्ने, पोल्ने, झमझमाउने लगायतका समस्याले उनी रातभर सुत्न सकेनन् । हातखुट्टाको औंलाको जोनीमा दुखाई बढ्दै गएपछि बाथ रोग विशेषज्ञकोमा आएको उनी बताउँछन् । “समयमै उपचारका लागि आएकाले कुनै अङ्ग गुमाउनु परेन ।” बीर अस्पतालमा जँचाएपछि नियमित औषधी सेवन गर्दै आएका उनले भने ।

गर्मी मौसममा भन्दा जाडो मौसममा बाथ रोगका विरामीहरु उपचारका लागि धेरै आउने गरेको राजधानीका विभिन्न अस्पतालको तथ्यांकले देखाउने गरेको छ । बाथ रोग विभिन्न प्रकारको हुने भएपनि नेपालमा सबैभन्दा  बढी गठिया बाथ देखिने गरेको छ । चिकित्सकहरुका अनुसार गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाइ अप्ठेरो पार्ने गरेको छ ।

बीर अस्पतालका बरिष्ठ बाथ रोग विशेषज्ञ डा. अन्जल विष्टका अनुसार  चिसो मौसममा बाथका लक्षणहरु बढी देखिने गरेका छन् । यो जुनसुकै मौसममा हुने गरेपनि जाडोमा भनृ बढी देखिने गरेको छ । “चिसोबाट जोगिन बाक्लो लुगा लगाउने, हातमा पञ्जा तथा खुट्टामा मोजा लगाएर शरीरलाई न्यानो पारेर राख्नु पर्दछ ।” डा. विष्टले भने, “गर्मी मौसममा बिहानपख केही बेरसम्म मात्रै कक्रक्क हुने हातखुट्टाको जोर्नी जाडोमा भने कक्रिएर दुखिरहने गर्छ ।”

कसैमा वंशाणुगत समश्या हुने र कतिलाई भने बंशाणुगत नभएपनि यस्तो समश्या देखिने गरेको छ । समग्रमा भनुपर्दा यो समश्या  शरीरको रोगसँग लड्ने क्षमतामा कम हुँदा देखापर्ने डा. विष्ट बताउँछन् । बाथका बिरामीमा हातखुट्टाका रक्त नलीहरु साँगुरिने समस्या आउने चिकित्सकको भनाइ छ ।

नेशनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित बैद्यका अनुसार रगतका नलीहरु साँगुरिने क्रम जाडोमा बढी हुन्छ । त्यसैले,  चिसो पानी वा चिसो वस्तु छुँदा हातखुट्टाका औंलाको रंग परिवर्तन भई सेतो, नीलो वा  रातो हुन्छ । उनले भने “यस्तो रोगको समस्या भएका विरामीले लामो समयसम्म चिसो पानीमा काम गर्दा रक्तनली साँगुरिएर औँलाका टुप्पामा घाउ हुनुका साथै रगतका नशाहरु खुम्चिँदा रक्तसञ्चार पुर्णरुपमा बन्द भई विरामीको मृत्यु हुने खतरा हुन्छ । ” उच्च रक्तचाप, मधुमेह र युरिक एसिडका विरामीमा बाथ रोग पनि बढि देखिने डा. बैद्यको भनाई छ ।

“यो रोग जुनसुकै उमेर समूहका मानिसमा हुने हुँदा लक्षण देखिने बित्तिकै समयमै उपचार गनुपर्छ, ” डा. बैद्य भन्छन, “यसकोे समयमै उपचार नभएमा अपाङ्गता हुनुका साथै मुटु, कलेजो, आँखा, छाला तथा नशामा पनि असर गर्छ ।”
नेशनल बाथ रोग सेन्टरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बाथरोगका विरामी करिब ३ लाख छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कूल जनसंख्याको १० प्रतिशतमा बाथरोगको समश्या देखिएको छ ।

के हो बाथरोग ?

सामान्यतया जोर्नी दुख्ने समस्यालाई बाथरोग  भनिन्छ । वरिष्ठ बाथ रोग विशेषज्ञ डा. अन्जल विष्ट शरीरमा प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा   यो रोग लाग्ने बताउँछन् । उनका अनुसार यसले शरीरको जोर्नीका साथै छाला,आँखा, दिमाग, मुटु, फोक्सो,मिर्गौला लगायतमा असर गर्छ । कुनै बेलामा भने अन्य रोगसँग मिसिएर यो रोगको लक्ष्ण देखिने विष्ट बताउँछन् ।

मुख्यतया ¥युमटोइड आरथ्राइटिस ( आमबाथ), ओस्टीयो आरथ्राईटिस ( जोर्नी खिइने बाथ ), गाउट (युरिक एसिडको बाथ), स्पोण्डीलो आरथ्राईटिस ( ढाडको बाथ), ¥युमारिक फिबर ( मुटुजन्य बाथज्वरो ) र लुपस ( एसएलइ), भास्कुलाइटीस (नशाको बाथ) झुबेनाइल आरथ्राइसिस (केटाकेटीमा हुने बाथ) नेपालमा देखिने गरेका छन् ।

बाथका  लक्षण

बाथ भएमा विहान उठ्ने बेलामा हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने , ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण देखिन्छ । साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अङ्गमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने जस्ता समश्या पनि यसका लक्षण हुन् ।

कसरी बच्ने ?
चिसोमा नजाने ।
बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको आैंला सेक्ने ।
चिसो मौसममा तातो खानेकुरा खाने  र न्यानो कपडा लगाउने ।
धुम्रपान तथा मद्यपान नगर्ने ।
रातो मासु नखाने ।
सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।
शरिरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई दखाउने ।

साभार-बाह्रखरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार