पैसामा फिर्ता नगरेको भन्दै बुहारीको हत्या


धनुषा । पैसा फिर्ता नगरेको भन्दै जेठाजुले बुहारीको हत्या गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएका श्रीप्रसाद पञ्जियारले पैसा फिर्ता नगरेको भन्दै रिसको झोकमा खुकुरी प्रहार गर्दा बुहारी ३८ बर्षीया रानीको मृत्यु भएको हो ।

घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट गएराती ९ बजे पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

श्रीप्रसादले प्रहरीसँगको बयानमा हत्या गरेको स्वीकार गरेका छन् । घटनापछि फरार भएका श्रीप्रसादलाई पक्राउ गरी आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

मिथिला नगरपालिका ९ बडहरीस्थित आँपको बगैचामा टाउको, नाक र बायाँ हातको तीन ओटा औंला काटिएको अवस्थामा रानी भेटिएकी थिइन् । तत्कालै अस्थायी प्रहरी पोष्ट बडहरीको टोली र स्थानीयहरुले उनलाई उद्वार गरी उपचारका लागि अस्पताल पठाए पनि रानीको मृत्यु भएके प्रहरीले जनाएको छ ।

बुहारी रानीले रकम फिर्ता नगर्दा श्रीप्रसादको घरमा श्रीमतीसँग झगडा पनि हुने गरेको प्रहरीले जनाएको छ । आफ्ना भाइबुहारीलाई दिएको रकम फिर्ता नगरेको झोंकमा झगडा हुँदा श्रीप्रसादकी श्रीमती चार दिनअघि माइत गएकी थिइन ।

श्रीप्रसाद रोजगारीका क्रममा मलेसियामा रहँदा भाइ मिश्रीप्रसाद र बुहारी रानीदेवीलाई पटक पटक पैसा पठाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार