
काठमाडौं । ७० करोड कमिसनकाण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना बिरुद्ध अख्तियारमा अर्को उजुरी परेको छ । आइतबार बिहान निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसनकाण्ड बिरुद्ध अख्तियारमा परेको उजुरीपछि आजै प्रधानमन्त्रीलाई समेत समेटेर अर्को उजुरी परेको हो ।
यसअघि बाँस्कोटालाई कारवाहीको माग गर्दै आइतबार बिहान सुनसरीका प्रितम सुवेदी र दोलखाका विजय बाबु शिवाकोटीले उजुरी दिएका थिए ।
बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले दिएको उजुरीमा प्रधानमन्त्रीसहित बाँस्कोटा, संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलको नाम रहेको ।
निवेदक शाही र पौडेलले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियोबारे प्रधानमन्त्रीले डेढ महिनाअघि नै थाहा पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कुनै कदम नचालेकाले उनिसहित चारैजना दोसी रहेकाले छानबिन गरी कारवाही गर्नुपर्ने दाबी गरिएको छ ।
अख्तियारमा दिइएको उजुरीमा उल्लेख छ, “प्रधानमन्त्रीले भ्रष्टाचारको प्रमाण पाएपछि पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री समेत भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ ।”
यो पनि पढ्नुहोस
७० करोड कमिसनकाण्डमा मुछिएका बास्कोटाबिरुद्ध अख्तियारमा उजुरी दर्ता








