
काठमाडौं। दलहरुबीच नयां सरकार गठनको रस्साकस्सी चलिरहेकै छ । यसैबीच सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा निर्वाचनको समिक्षा, परिणाम, नयाँ सरकार गठन लगायत समसामयिक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ ।
मंसिर ४ गतेको चुनावपछि सम्पुर्ण नतिजा आइसकेको सन्दर्भमा दलहरु अहिले समानुपातिकतर्फका सांसद छनोट कार्यमा व्यस्त छन् । समानुपातिक सांसद छनौट प्रकृया दलहरुका लागि पेचिलो बन्दै गइरहेको छ । यहिबीचमा नयां सरकार गठनबारे पनि दलहरुबीच भेटवार्ताहरु भइरहेका छन् ।
चुनावमा सबैभन्दा ठुलो दल बनेको काँग्रेसमा अबको प्रधानमन्त्री को बन्ने ? भन्ने बिषयमा ठुलै चर्चा भइरहेको छ । काँग्रेसमा वरिष्ठ नेता पौडेल पनि प्रधानमन्त्रीको दौडमा छन् भने युवा नेता गगन थापाले पनि आफ्नो दावी गरिरहेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले फेरी पनि सत्ता गठबन्धन सरकारको नेतृत्व लिने बताइरहेका छन् ।
चुनावमा तेस्रो दल बनेको माओवादीले पनि आफनो नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको चर्चा छ । यद्यपी माओवादीभित्रको युवा जमातले भने पार्टी सरकारमा जान नहुने र पार्टीलाई रुपान्तरण गर्दै बलियो बनाउनेतर्फ लाग्नुपर्ने सुझाव दिइरहेको छ ।












