इजरेलमा चाडपर्वकै बेला तीन हप्ता कडा लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा


काठमाडौं । कोरोना महामारीको जोखिम देखाउदै इजरेल सरकारले थप तीन साता लकडाउन घोषणा गरेको हो । सरकारले कोरोना  यन्त्रणका लागि भन्दै यहुदी नयाँ वर्षदेखि लागु हुने गरी देशव्यापी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन घोषणा गरेको हो ।

उक्त लकडाउन आउँदो शुक्रवारदेखि शुरू हुने हुने छ । तीन हप्तासम्म कडा लडाउन घोषणा गरेपछि एक मन्त्रीले सरकारको निर्णयको विरोध जनाउदै राजीनामा घोषणा गरेका छन् । कट्टर यहुदी पार्टीको नेतृत्व गर्ने आवास मामिला मन्त्री याकुब लिसम्यानले महत्त्वपूर्ण यहुदी चाडपर्वहरूसँग लकडाउन जुध्ने भएकोले सरकारको निर्णयप्रति विरोध जनाउँदै पदबाट राजीनामा दिएको बताएका छन् ।

बीबीसीका अनुसार लकडाउनसम्बन्धी नियमका कारण मानिसहरूले यहुदी पात्रोमा पर्ने सबैभन्दा पवित्र दिन योम किपूरसहितका चाडपर्वहरू मनाउनबाट वञ्चित हुने छन् । अहिले दैनिक चार हजारसम्म नयाँ सङ्क्रमित थपिने गरेकाले लकडाउनको उल्लघंन गरेमा कडा मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन् ।

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

अबको लकडाउनमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन्।

विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन। गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार