हिमाल चढ्न नेपाल आइपुगे बहराइनका राजकुमार खलिफा


काठमाडौं । कोरोना महामारीका बेला पनि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफा हिमाल चढ्न नेपाल आइपुगेका छन् । राजपरिवारका सदस्यसहित १८ जनाको टोली बुधबार हिमाल चढ्न विशेष विमान मार्फत नेपाल आइपुगेको हो ।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन् । उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो।

बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्ने लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुनेछ।

दुई महिनासम्म नेपालमै रहने उनीहरुले दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन यामममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ । यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा आरोहण गर्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार