सम्झनाको नाममा कविता: ‘बलात्कारी’

मन्दिरको अगाडि
प्रहरी चौकीकै सामुन्ने
मृत फेला पर्यो
सुकना सदाको अर्धनग्न शरिर
….
सरकारले गिरफ्तार गर्यो एकवाल पासवानलाई
उसले रुँदै भन्यो–
‘सरखार !
हमते रिक्साबाला आदमी
ओकरे लेल प्रेमपत्र लिखके
इन्तजारमे छेलु बरिसौंसे’
….
सरकारले घेरा हाल्यो गाउँलाई
गाउँले बयान दियोे–
‘हजुर !
सुकना कलाकार थिइ
उसको आवाजमा जादू थियो
गायिका बन्छु भन्दै
सुन्य बनाएर गएकी थिइ सहर’
….
सरकारले समायो सहरलाई
सहरले बयान दियो–
‘श्रीमान !
जेब्रा झोलामा गीतको कापी बोकेर
बास खोज्दै भौतारिन्थी दिनभरी
साँझ आएर उ त्यो गल्लीमा
धुमधुम्ती एक्लै बस्थि’
….
सरकारले पक्राउ पुर्जी थमायो गल्लीलाई
गल्लीले बयान दियो–
‘देहाती माटोले जन्माएको
जून थिइ सुकना
क्रुर नंग्राले चिथोरेर
भुईंमा खसाली दियो’
त्यसपछि बन्द भयो
एउटा मुल्तबी मुद्दा
०००
आज फेरि सुनियो
अदालतकै आगनमा
झुन्डिरहेको छ
फूलमाया बिकको शरिर
यस पटक ‘सुसाइट नोट’ फेला पर्यो
नोटमा लेखिएको छ बलात्कारीको नाम
‘राज्य’.. !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार