तातोपानी नाका आजबाट खुल्यो, चिनियां सामान ल्याउन सहज


काठमाडौं । नेपाल– चीन सीमा क्षेत्र तातोपानी नाका आजबाट खुलेको छ । कोरोनाका कारण असोज २० गतेदेखि बन्द तातोपानी नाका बिहीबारबाट एकतर्फी सञ्चालनमा आएको हो । केहि सामान बोकेको कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तत्कालका लागि एकतर्फी चिनबाट मात्रै नेपालतर्फ सर सामान आयात हुने भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

नाका खुलेको संकेत स्वरुप आज एउटा मात्रै कन्टेनर नेपाल आउने र भोलिदेखि कम्तिमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने उनको भनाइ छ । बुधबारदेखि नै नाका खुला गर्ने सहमति भएपनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन नसकेको भन्सार प्रमुख खत्रीले बताए ।

नाका सञ्चालन गर्न अपनाइएको स्वास्थ्य प्रोटोकलअनुसार नेपाली पक्षले नेपाली भूभागमा तयार पारेको आइसोलेसनमा चिनियाँहरुले सामान खसाल्नेछन् । चीनबाट आएको सामान २४ देखि ४८ घण्टासम्म क्वरिन्टिनमा राखिनेछ र त्यसपछि मात्रै नेपालतर्फ ढुवानी गरिने छ । नेपालबाट चीनतर्फ कोरोना सर्न सक्ने भन्दै चीनले गत असोज २० गतेदेखि नाकाबाट हुने मालवस्तु ढुवानी रोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार