काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले शनिबार देखि आन्दोलन जारी राख्ने निर्णय गरेका हुन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने असार २० गते प्रतिगमनविरुद्ध विद्यार्थी आन्दोलनका पूर्वअध्यक्ष वा नेताहरुसँग अन्तर्क्रिया गर्ने र असार २१ गते माइतीघर मण्डला र उपत्यका बाहिरका प्रत्येक जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै आएका छन् ।
यसका साथै उनीहरुले काठमाडौं महानगरपालिकाले रत्नपार्कको भित्तेचित्र मेटाएर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको भन्दै मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न आग्रह पनि गरेका छन् ।
जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं ।’