ओलीलाई प्रचण्डको चेतावनीः आगोसंग खेलेका कारण बालकोट पुगे, अझ धेरै गरे राजनीतिबाटै बाहिर निकाल्छौं


नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिबाट बाहिर निकाल्ने चेतावनी दिएका छन् ।

आज नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफु र आफ्नो पार्टीविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन् । आफु र आफ्नो पार्टीलाई धोका दिएका कारण एमाले अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइएको प्रचण्डको भनाई थियो ।

‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइएको हो, अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ’, प्रचण्डको चेतावनी थियो ।

माओवादी आगो भएको र आगोसंग खेलेका कारण ओलीले प्रदेश सरकारको नेतृत्व समेत गुमाएको उनले बताए ।

‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि ओलीको पार्टी बाहिरिदैछ । अति गरेपछि खति हुन्छ,’ प्रचण्डले भने।

ओलीप्रति निकै आक्रामक देखिएका प्रचण्डले मधेसी जनतासंग आफ्नो पुरानो प्रेम रहेको उल्लेख गरे । हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको पनि बताए । उक्त क्षेत्रका नागरिकले नेपाली भन्दा हिन्दी भाषा बढि बुझ्दछन् । सोहि कारण प्रचण्डले आफ्नो भाषणमा हिन्दी भाषा प्रयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार