राष्ट्रपति भण्डारीद्धारा दशैंको शुभकामना: राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश र विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि समेत सबैमा आग्रह गरेकी छन् ।

‘वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषि प्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

दसैँले जस्ता चाडपर्वहरू राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ ।

‘यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु’,
जारी सन्देशमा भनिएको छ ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौंदिन विजया दशमीका रुपमा मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार