अध्यक्ष प्रचण्डको जापानमा भव्य स्वागत, यस्तो छ भ्रमण तालिका


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन्। जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतका नेपालीहरुले स्वागत गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूवप्रधानमन्त्री समेत रहेका प्रचण्ड नेपाल एयरलाइन्सको विमानमार्फत हिजो राती पाँच दिने भ्रमणका लागि जापान गएका हुन् । प्रचण्ड सचिवालयका अनुसार प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण तालिका अनुसार आइतबार उनले हिरोसिमाको पनि भ्रमण गर्नेछन् । त्यही दिन नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपाली बीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ ।

भ्रमण टोलीमा प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण छन् । जापान भ्रमण पुरा गरेर अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार