चुनावका लागि पहिलो दिनमै आयोगमा ५ पार्टी दर्ता, एक नम्बरमा सिके रावतको पार्टी


काठमाडौं । आउँदो मंसिर ४ गते हुने चुनावमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन आयोगले साउन २२ देखि ३१ गतेसम्मको समय सिमा तोकेको छ । जसमा आज पहिलो दिनमै ५ वटा पार्टी आयोगमा दर्ता भएका हुन् ।

दर्ता भएकामध्ये एक नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता , तेस्रोमा नेपाल समावेशी पार्टी, चौथोमा हाम्रो नेपाली पार्टी र पाँचौंमा पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

सरकारद्धारा चुनाव घोषणा भएपछि आयोगले हिजो एक विज्ञप्ति जारी गर्दै दल दर्ताका लागि आव्हान गरेको थियो ।
दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।

यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार